news

२०८० साउन १४ गते

काठमाण्डु, १४ साउन- इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ।

आज सूचना जारी गर्दै शाखाले करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो।  भाषा परीक्षा आवेदन फारम साउनको २० गतेदेखि २४ गतेसम्म भर्न सकिने इपिएस शाखाले जानकारी दिएको छ।

भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ। इपिएस नेपालको वेब साइटमा लगइन गरेर परीक्षा आवेदन फारम भर्न सकिने छ। नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ।

परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले बताएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैरकानूनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन्। // काठमाण्डु टुडे